पोखरा मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पश्चिम खण्डको कामले गति लिएको छ । सडक निर्माणमा चिनियाँ कामदार ५० जना र नेपाली सहित ६० इन्जिनियर खटिएका छन् । फिल्डमा ४ सय २५ जना नेपाली कामदारले काम गरिरहेका छन् । निर्माण कम्पनिका अनुसार मध्य जनवरीदेखि कालोपत्रेको काम सुरु हुनेछ । हालसम्म सब बेसको काम १.७ किलोमिटर सकिएको छ ।

कामदारसँगै उपकरण पनि थपिएका छन् । एक्स्काभेटर ४०, लोडर १०, ग्रेडर ६ वटा र पानीको ट्याङ्कर ८ वटा परिचालन गरिएको छ । सब बेस ८० हजार मिटर क्युव र बेस ३० हजार मिटर क्युव भण्डार गरिएको छ । २० किलोमिटर पिच गर्न आवश्यक पर्ने सामग्री तयार छ । पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडा सहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको पिच हुनेछ ।
पश्चिम खण्डको अवलोकनमा पुग्नु भएका पोखराका प्रमुख धनराज आचार्यले पछिल्लो कामको प्रगति राम्रो पाएको सुनाउनुभयो । तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सडक निर्माणमा भइरहेको ढिलाइको क्षति पोखराको पर्यटनले भोगिरहेको उहाँले बताउनुभयो । आयोजना अन्तरगत पोखरा खण्डको काम अझ तीव्र गतिमा गर्न आग्रह गर्नुभयो । सबै खालको समन्वय गर्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो । शुक्ल गण्डकी नगरपालिकाका प्रमुख कृष्ण पण्डितले आयोजना क्षेत्रमा पर्ने सबै समस्या समाधानका लागि आफूहरू तयार रहेको बताउनुभयो ।
एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा बन्न लागेको ३९ किलोमिटरको दोस्रो खण्डमा मात्रै ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च हुनेछ । निर्माणमा कम्पनीको सहायक कनट्र्याक्ट म्यानेजर जियान युचुले आफूहरू तोकिए कै समय सीमा भित्र सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी लागिरहेको बताउनुभयो । सडक स्तरोन्नतिमा मुख्य समस्याका रूपमा बिजुलीको पोल र खानेपानीको पाइप रहेको उहाँले बताउनुभयो ।
हाल ठेकेदार कम्पनीका डेपुटी जेनेरल म्यानेजर माओ ल्योसन पनि नेपाल नै रहनुभएको छ ।