Sunday, May 18News That Matters

सदा शिवजी सिद्देश्वर हरिहर मन्दिर समितिद्वारा आयोजित सरसफाइ कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा–१७ मा अवस्थित कास्की जिल्लाकै ऐतिहासिक सदा शिवजी सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिद्वारा आज शनिबार सरसफाइ अभियान सम्पन्न भएको छ।

माघ १ गते माघे संक्रान्तिको अवसरमा ऐतिहासिक ढुंगे साँघु मेला आयोजना हुने भएकाले सोको तयारीस्वरूप मन्दिर परिसर र वरपरको क्षेत्र सफा गरिएको हो।

समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीको नेतृत्वमा आयोजित उक्त सरसफाइ कार्यक्रममा नेपाल प्रहरी गण्डकी प्रदेश गण डेमसाइड, सशस्त्र प्रहरी बल, ढुंगे साँघु सितापाइला आमा समूह, जागरण आमा समूह, सिद्देश्वर सहकारी संस्था, ढुंगे साँघु सहकारी संस्था, जनकल्याण टोल विकास संस्था, सितापाइला टोल विकास संस्था, समृद्धि टोल विकास संस्था, सितापुरी युवा क्लब, समावेशी आमा समूह लगायत स्थानीय सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।

सरसफाइ अभियानमा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष, सल्लाहकार, तथा आजीवन सदस्यहरूको समेत उपस्थिति रहेको थियो। स्थानीय बासिन्दासहित करिब २५० जनाले अभियानमा सहभागिता जनाएका थिए।

प्रत्येक वर्ष माघे संक्रान्तिका दिन मन्दिर परिसरमा परम्परागत रूपमा ढुंगे साँघु मेला लाग्ने गर्दछ। मेला भर्न टाढा–टाढाबाट भक्तजनहरू आउने परम्परा छ। उक्त दिन सेती नदीमा स्नान गरी सदा शिवजी सिद्देश्वर हरिहर मन्दिरमा दर्शन र पूजा गर्ने, दूध चढाउने, भजन गाउने, नाचगान गर्ने र रमाइलो गर्ने चलन छ।

मेलाको अवसरमा कृषि तथा घरायसी सामग्री, लत्ता कपडा, र विभिन्न वस्तुहरू किनबेच गरिन्छ। साथै, सांस्कृतिक कार्यक्रम र खेलकुदका प्रतियोगिताहरू समेत आयोजना गरिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले जानकारी दिए।

धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यस मेलाले माघे संक्रान्तिको विशेष महत्वलाई अझ उचाइ दिएको छ।

प्रतिकृया दिनुहोस