Sunday, March 23News That Matters

राधेश्याम मुल्मीलाई २०८० को ‘ललितकला पुरस्कार’ र ‘सोम वज्राचार्य स्मृति संगीत पुरस्कार रामभक्त जोजेजुलई प्रदान

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकार तथा प्राध्यापक राधेश्याम मुल्मीलाई ‘ललितकला पुरस्कार २०८०’ र वरिष्ठ संगीतकार एवं गायक रामभक्त जोजेजुलाई ‘सोम वज्राचार्य स्मृति संगीत पुरस्कार २०८०’ प्रदान गरिएको छ। 

ललितकला पुरस्कारका संस्थापक दुर्गा बरालले आफ्नो नाम नराखी ‘ललितकला पुरस्कार’ नामकरण गरी उत्कृष्ट त्याग गरेको कार्यक्रममा विशेष अतिथि कवि तीर्थ श्रेष्ठले बताए। उनले पुरस्कारले प्राज्ञिक क्षेत्रका वरिष्ठ कलाकारहरूको योगदानलाई सम्मानित गरेकोमा खुशी व्यक्त गरे। 

दुर्गा बरालले आफ्नो पहिल्यै प्राप्त गरेको पुरस्कारलाई संकलन गरी त्यसबाट कोष स्थापना गरी ‘ललितकला पुरस्कार’ स्थापना गरेका थिए। कार्यक्रममा वक्ताहरूले दुर्गा बरालको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै कला र संस्कृतिका लागि गरिएको त्यागलाई उदाहरणीय भने , त्यसैबाट अहिले सम्म पुरस्कारहरू प्रदान गरिँदै आएको कुरा वक्ताहरूले स्मरण गरे। “यो पुरस्कार एक महान् योगदानको प्रतिफल हो,” भन्दै उनीहरूले बरालको योगदानलाई उच्च कदर गरे। 

सोम वज्राचार्यको परिवारद्वारा स्थापना गरिएको यो पुरस्कार गायक र संगीतकार रामभक्त जोजेजुलाई प्रदान गरिएको हो। कार्यक्रममा कवि तीर्थ श्रेष्ठले वज्राचार्यसँगका आफ्ना पुराना स्मरण सुनाउँदै परिवारद्वारा स्थापित पुरस्कार प्रशंसनीय भएको बताए। कवि तीर्थ श्रेष्ठले धर्मराज थापा, अम्बर गुरुङ र सोमनाथ बज्राचार्यसँग बिताएका क्षणहरूको चर्चा गर्दै तिनीहरूको योगदानको प्रशंसा गरेका छन्।

रामभक्त जोजेजुले पुरस्कार ग्रहण गर्दै आफूलाई योग्य ठहर गरी सम्मान गरेकोमा सबैप्रति आभार प्रकट गरे। उनले सोम वज्राचार्यसँग बिताएका सम्झनाहरू बाँड्दै, “उहाँ सधैं सहयोगी हुनुहुन्थ्यो, हामीलाई प्रोत्साहन गर्नुहुन्थ्यो,” भनी पुराना दिनहरूको स्मरण गरे। साथै, उनले रेडियो नेपालमा काम गर्दा वज्राचार्यको हौसलाका कारण आफूले धेरै उपलब्धि हासिल गर्न सकेको उल्लेख गरे। 

ललितकला पुरस्कार पाएका वरिष्ठ कलाकार राधेश्याम मुल्मीले यो पुरस्कारले आफूलाई अत्यन्त हौसला प्रदान गरेको बताए। “पोखरेली युवा सांस्कृतिक परिवारले हामी जस्ता लुकेका कलाकारलाई सम्झेकोमा म आभारी छु,” भन्दै कलाकारिता जीवनमा यो सम्मान प्रेरणादायी भएको बताए। मुल्मीले कला मानव जीवनको अभिन्न अंग भएको र यसले विविध रूपमा जीवन बिज्ञानसँग जोडिएको तर्क गरे।

कार्यक्रमका संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भने, “कलाको रुचि नभएका मानिसहरू पुच्छर नभएका जनावरसरह हुन्। कलाको सम्मान गर्न र कलाकारितालाई अगाडि बढाउन यस्ता संस्थाहरूको संरक्षण र माया गर्न आवश्यकतामा जोड दिए ।”

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार २०३४ सालदेखि नै साहित्य, संगीत र कलाको प्रवर्द्धनमा क्रियाशील रहेको चर्चा भयो। संस्थाले विभिन्न विधाका कलाकार र साहित्यकारहरूलाई सम्मानित गर्दै उनीहरूको योगदानको कदर गर्दै आएको छ। 

कार्यक्रममा उपस्थित अतिथिहरूले कलाकार र साहित्यकारहरूको योगदानको कदर गर्दै भने, “कलाको उन्नतिमा यस्ता सम्मानले सृजनात्मकता थप्छ। कलाकार र लेखकहरूको योगदानलाई यसरी सम्मान गर्नु समाजकै उन्नति हो।” “कलाको सम्मान गर्न र कलाकारितालाई अगाडि बढाउन यस्ता संस्थाहरूको संरक्षण र माया गर्न आवश्यक छ।” 

वरिष्ठ कलाकार दुर्गा बरालले कलाकारहरुलाई सम्मानपत्र प्रदान गरे । दुवै पुरस्कारको राशि १५/१५ हजार रुपैयाँ छ । गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी पत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोखरेली युवा सांस्कृतिक परिवार सञ्चालन गर्ने गरी सो पुरस्कार स्थापना गरेकी हुन् ।

ललितकला पुरस्कार छनोट समिति संयोजक बुद्धि गुरुङले शुभकामना व्यक्त गरेको कार्यक्रममा परिवारका पूर्वअध्यक्ष जीवनसागर भण्डारीले सम्मानित श्रष्टाका बारेमा बोलेका थिए ।

यो सम्मानले न केवल सम्मानित व्यक्तित्वहरूको योगदानको कदर गरेको छ, तर कला, साहित्य र संगीतका क्षेत्रमा अझ ऊर्जा थपेको छ। 

कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार दुर्गा बरालले भन्नुभयो “२०२६” सालमा राधेश्याम मुल्मीलाई पृथ्वीचोकमा चित्र बनाउँदा देखेको थिए। त्यतिबेला राधेश्याम मुल्मी पाकिस्तानमा अध्ययन गर्दै रहेछन छुट्टीमा नेपाल आएका ” यति बेला दुर्गा बरालले मुल्मीलाई चित्रकलामा बनाउदै गरेको देखेको थिए। ” मेरो र राधेश्याम मुल्मी बीचको भेटको अवसर बनेको थिएन, तर विभिन्न चित्रकला कार्यक्रमहरूमा एक अर्कालाई देख्ने गरेको दुर्गा बारालले स्मरण गरे । ”नेपाल भारत मैत्री आर्ट” कार्यक्रममा पनि भेट्ने अबसर थियो यद्यपि, त्यो समयमा एक अर्कासँग गहिरो संवाद गर्ने अवसर उपलब्ध भएन। दुर्गा बरालले राधेश्याम मुल्मीलाई सम्झँदै भने, “कुनै एक अवसरमा हामी एकअर्कासँग भेट गर्न चाहन्थ्यौं, तर त्यस्तो अवसर कहिल्यै आएन। तर आज वहाको कलाकृति देख्दा आफु उत्साहित रहेको बताए

कार्यक्रमका समापनमा पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रिता अधिकारी ले कलालाई जीवनको त्रिवेणी भनेर चित्रण गर्दै, संस्थाले पोखरेली कलाकारहरूको पहिचानलाई उजागर गर्न सकेकोमा गर्व लागेको बताइन्। उनले कार्यक्रमले कला, साहित्य, र संगीतको विकासका लागि एउटा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरिन्। 

प्रतिकृया दिनुहोस