असल नेतृत्वको अभाव र जेनजी आन्दोलन
नेपालको समग्र अवस्था अहिले गम्भीर मोडमा आइपुगेको छ। देश आर्थिक संकटको खाडलमा डुबिरहेको छ भने सामाजिक संरचना कमजोर हुँदै गएको छ। यसको प्रमुख कारण भनेको असल नेतृत्वको अभाव हो।
नेपाल लगायत जस्ता क्षेत्रहरूलाई हेर्दा मात्र पनि यसको स्पष्ट चित्रण गर्न सकिन्छ। व्यापार–व्यवसाय चरम अस्तव्यस्ततामा पुगेको छ। उचित आर्थिक नीति नहुँदा व्यवसायीहरू हतोत्साहित भएका छन्। उद्योगधन्दा चलाउने वातावरण सिर्जना हुन नसक्दा नेपालमा कलकारखानाको संख्या निकै कम छ। भएका केही कारखाना पनि सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्। बाँकी बचेका उद्योग–धन्दा भने मनपरी ढङ्गले मूल्य निर्धारण गरेर सामान बेच्ने प्रवृत्तिमा सीमित छन्। यसरी रोजगार सिर्जना गर्न नसक्नु र बेरोजगारी फैलनु देशकै भविष्यलाई अन्धकारतर्फ धकेलिरहेको छ।
सहकारी क्षेत्र समेत तरलता अभावको गम्भीर समस्यामा छ। देशैभरि सहकारी संस्थाहरू पतनको अवस्थामा पुगेका छन्, जसले आमजनतालाई थप असुरक्षित बनाइरहेको छ। यसका अतिरिक्त सत्तामा रहेका राजनीतिक दलका नेताहरू र तिनका सल्लाहकारहरूले आफ्ना नजिकका मान्छेलाई फाइदा पुर्याउने र अरूलाई पन्छाउने प्रवृत्तिले जनतामा असन्तोष मात्र बढाएको छ। एउटै देशमा एउटै मुद्दामा विभिन्न दलहरूको फरक–फरक नीति देख्दा नागरिक निराश हुनु स्वाभाविकै हो।
यस्तो अवस्थामा नेपालको जेनजी पुस्ता (Gen Z Youth) सडकमा उत्रिन बाध्य भएको छ। उनीहरूको आन्दोलन केवल असन्तोषको विस्फोट मात्र नभई नयाँ राष्ट्र निर्माणको आकांक्षाको प्रतीक हो। उनीहरू पुराना दलहरूको स्वार्थी राजनीति, नेताहरूको असक्षम नेतृत्व, र प्रणालीगत अन्यायविरुद्ध विद्रोह गर्दैछन्।
प्रधानमन्त्रीको राजीनामा र संसद् विघटनजस्ता घटनाले नेपालको राजनीतिक अस्थिरतालाई झनै उजागर गरेको छ। दुईतिहाइको स्थिर सरकार समेत ढल्नु सामान्य कुरा होइन। गणतन्त्र मुलुकमा यस्तो अस्थिरता विश्वकै लागि पनि अस्वाभाविक घटनाक्रम हो। यसबाट स्पष्ट हुन्छ, दलहरू युवालाई सही बाटो देखाउन असफल भएका छन्।
तर आन्दोलनमा देखिएको केही पक्ष आलोच्य पनि छन्। निजी सम्पत्तिमा आगो लगाउनु, सरकारी सम्पत्ति नष्ट गर्नु, वा सुरक्षाकर्मीको पोशाकलाई व्यङ्ग्यात्मक शैलीमा प्रयोग गर्नु देशकै प्रतिष्ठामाथि प्रहार हो। यस्तो गतिविधिले आन्दोलनको नैतिकता कमजोर बनाउँछ। लोकतन्त्रमा परिवर्तन ल्याउने प्रमुख मार्ग भनेकै चुनावी प्रक्रिया हो, र जनताको इच्छा–आकांक्षा त्यसैबाट प्रतिबिम्बित हुनुपर्छ।
अतः नेपालको हालको अवस्था दुई किसिमले बुझ्न सकिन्छ—
१) असल नेतृत्वको अभावका कारण मुलुक संकटमा छ।
२) युवापुस्ताले (Gen Z) असन्तोषलाई परिवर्तनको रूप दिन खोजिरहेको छ।
अब प्रश्न उठ्छ—के राजनीतिक दलहरूले युवाको आवाजलाई सम्बोधन गर्नेछन्, वा फेरि पुरानै असक्षम नेताहरूको घेराभन्दा बाहिर निस्कन सक्दैनन्?
यदि अहिले पनि सुधार भएन भने नेपाल अझै पछाडि धकेलिन सक्छ। तर जेनजी आन्दोलनले देखाएको ऊर्जा र साहसलाई यदि सकारात्मक बाटोमा मोड्न सकियो भने, यो पुस्ता नै नयाँ नेपालको आधारशिला बन्न सक्छ।
